काठमाडौँ । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त (वढुवा) भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी थापालाई आईजीपी पदमा नियुक्त गरेको हो ।
आईजीपी वसन्तबहादुर कुँवर आज राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएसँगै थापालाई कार्यभार सम्हाल्ने छन् ।
आईजीपी बन्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङबीच प्रतिस्पर्धा थियो ।
उनीहरू २०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । थापा एआईजी बनेको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए ।
थापा आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन् । तर ३० वर्षे हट्ने गरी ल्याइएको विधेयक संसद्मा विचाराधिन छ । सो विधेयक पारित भएमा थापाको सेवा अवधि थप हुन सक्नेछ ।
भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए । उनले आईए पास गर्ने बित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थालेका थिए । २०४८ सालमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिए र निमावि शिक्षकमा नाम निकालेका थिए ।
भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दैगर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउन थालिसकेका थिए । पछि १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेका बेला उनले दर्खास्त दिएका थिए ।
उनले आईए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए । २०५० सालमा हालका आईजीपी वसन्त कुँवरले पनि सोही दर्खास्तमा आवेदन दिएका थिए ।
तर, तत्कालीन सरकारले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिए । बाँकी रहेका ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पत्र बुझ्दा थापालाई कुँवरको बिदाइ गर्ने अवसर जुरेको छ ।
प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका छन् ।
प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रही सकेका छन् भने उनले जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् ।
बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका थिए ।
एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरेका थिए । एआईजीमा वढुवा भएपछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरेका थिए ।