काठमाडौं । नेकपा एमालेले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य नभएको विशेष प्रस्ताव पारित गरेको छ ।
पार्टी कार्यालयमा बसेको सचिवालयले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ- ‘विगतमा आन्दोलनका क्रममा गरिएका सहमति विपरित राजतन्त्र पटकपटक जनताका अधिकारमाथि आक्रमण र सर्वसत्तावादतर्फ उद्धत भएपछि राजतन्त्र र लोकतन्त्र सँगै जान सक्दैनन् भन्ने निष्कर्षका साथ ऐतिहासिक संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । जनताको यस फैसला उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशामा फर्काउने कुनै पनि प्रयास सफल हुन सक्दैन ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उपमहासचिव प्रदीप ज्ञवालीले लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सात दशक लामो बलिदानीपूर्ण संघर्षको परिणाम भएको उल्लेख गर्दै कुनै पनि पश्चगामी प्रयासलाई अस्वीकार्य ठहर गरेको जानकारी दिए ।
वैठकले राजसंस्था र लोकतन्त्रसँगै जान नसक्ने ठहर्याएको बताउँदै ज्ञवालीले भने, ‘अहिले पनि वंशको आधारमा शासन गर्ने बहस आफैँमा हास्यास्पद छ । यो देशको लागि हानीकरक र निरर्थक प्रयास हो । हाम्रो पार्टी संविधान र यसले संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणालीको पक्षमा उभिन्छ ।’
उपमहासचिव ज्ञवालीले नेपालको संविधानको प्रभावकारी कार्यान्वयन, राजनीतिक स्थिरता, सुशासन, प्रभावकारी सेवा प्रवाह, आर्थिक विकास र सुधारको दिशामा अघि बढ्ने एमालेको प्रतिबद्धता कायम रहेको बताए ।
सचिवालय बैठकले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउन दृढ संकल्प व्यक्त गरेको छ । साथै, बैठकले लुम्बिनी प्रदेश कमिटीबाट अनुमोदनका लागि पठाइएका २८ जना नयाँ सदस्यहरूको नाम अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।
एमालेले २१ औँ शताब्दीमा जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस हानिकारक र निरर्थक भएको भन्दै जनताका अधिकारमाथि पुनः आक्रमण गर्ने कुनै पनि प्रयासलाई प्रतिरोध गर्ने संकेत दिएको छ ।
त्यस्तै एमालेले विपक्षी दलहरू सरकारमा भागबन्डा खोज्दै सत्ताको भर्याङ बनाउने प्रवृत्तिप्रति गम्भीर नैतिक प्रश्न उठाएको छ ।
राष्ट्रिय सहमतिको सरकार गठनबारे भइरहेको चर्चाप्रति इंगित गर्दै उनले भने, ‘यो एकदमै बेमौसमी विषय हो । यो बिषयमा हामी प्रवेश गरेनौं । यस्तो बेलामा पनि भागबन्डा खोज्ने भनेको चाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोज्या हो ?’