काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर आज राति १२ बजेटबाट अवकाश हुने भएकाले सरकारले आजै नयाँ आइजीपी नियुक्त गर्दैछ ।
आज साँझ ४ बजे बस्ने मन्त्रिपरिषद् वैठकले भोलिबाट वहाल हुने गरी ३१ औं आइजीपी (बढुवा) नियुक्त गर्ने भएको हो ।
आईजी कुँवरसँगै पाँच एआईजी पनि आजै अवकाश हुने हुँदा आईजीपीको दाबेदारमा तीन जना केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक एआईजी दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेकबहादुर तामाङ छन् ।
२०५२ भदौ १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनीहरु मध्ये थापा एआईजी बनेको दुई सातापछि गिरी र तामाङ एआईजीमा बढुवा भएका थिए । अब बन्ने आईजीपी २०८२ भदौ १९ गतेसम्म सेवामा रहनेछन् । उनीहरु मध्ये को आईजी बन्छन् भन्ने अझै निश्चित भएको छैन ।
३० वर्षे हट्ने गरी ल्याइएको विधेयक संसदमा विचाराधीन छ । सो विधेयक संसद्बाट पारित भएमा सेवा अवधि थप हुन सक्नेछ ।
नेपाल प्रहरी प्रधान कार्यालयले आज साँझ नै आईजी कुँवरसहितका उच्च अधिकृतको बिदाई कार्यक्रम तय गरेको केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले जानकारी दिएका छन् ।
प्रहरी सेवा नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरी आज अवकाश हुन लागेका एआइजीहरुमा टेकप्रसाद राई, बुद्धिबहादुर गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई छन् । डीआईजीहरुमा गण्डकी प्रहरी प्रमुख भोलाबहादुर रावल, सुदूरपश्चिम प्रहरी प्रमुख गणेश चन्द, उपत्यका प्रहरीका ट्वाइसी ध्रुव राउत पनि आजै बिदाइ हुँदैछन् ।
बिदा हुने आईजीले जनपद प्रहरी समूहतर्फका वरिष्ठतम एआईजीलाई आफ्नो कार्यभार बुझाउने प्रचलन छ । वर्तमान आईजी कुवर र उनका व्याचीको बिदाइपछि एआईजी दीपक थापा वरिष्ठतम एआईजी रहन्छन् ।

























