काठमाडौं । पाकिस्तानी गजल तथा पार्श्वगायक गुलाम अली शनिबार ललितपुरमा गुञ्जिने भएका छन् । ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा प्रस्तुति दिन उनी विहिबार बेलुका काठमाडौं आइपुगेका छन् ।
११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका अलीसँगै उनका छोरा अमिर र नाती नाजिरले पनि प्रस्तुति दिने कार्यक्रम छ ।
अलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक साधना कला केन्द्रका पदाधिकारी, संगीतकार दीपक जंघम र पञ्चकन्याले स्वागत गरेका थिए ।
आयोजक संस्थाका प्रमुख मिलन मोक्तानले गजलकार अलीको मागअनुसार नै नेपालमा कार्यक्रम गर्न लागिएको जानकारी दिँदै उनले करिब ३ घण्टा आफ्ना लोकप्रिय गजल र गायकीको प्रस्तुति दिने कार्यक्रम रहेको बताएका छन् ।
पहिलोपटक नेपालमा प्रस्तुति दिन लागेका अलीका सबैभन्दा प्रसिद्ध गजलहरू मध्ये ‘चुपके चुपके रात दिन’, ‘हंगामा है क्यूँ बर्पा’, ‘कल चौधविन की रात थी’ र ‘ये दिल ये पागल दिल मेरा’ समावेश छन् जसलाई बलिउड फिल्महरूमा पनि फिचर्ड गरिएको छ । यसबाहेक उनले मनमोहक पञ्जाबी गीत गाएका छन् ।
उनले तत्कालिन नेपाली राजा महेन्द्रले लेखेको ‘किन किन तिम्रो तस्वीर’ पनि गाएका छन्, जुन नेपालमा निकै रुचाइएको गीतमध्ये पर्छ ।
कार्यक्रममा प्रवेशका लागि टिकट मुल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको र संकलित रकमको केही हिस्साबाट गायन र नृत्यमा लागिरहेका बच्चालाई १ वर्षको छात्रवृति दिइने बताइएको छ ।