काठमाडौँ । संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनको अध्यक्षमा रेणुका सुवेदी निर्वाचित भएकी छन् । सोमबार भएको निर्वाचनमा सुवेदी नेतृत्वको प्यानल विजयी भएको हो ।
एमाले निकट नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमिती सदस्य समेत रहेकी सुवेदीले ९२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्षका अन्य उम्मेदवारहरू सरश्वती रिजालले ४७, अरुणकिशोर शर्माले ३५ र विष्णु खड्काले ३४ मत ल्याएका थिए ।
उपाध्यक्षमा सुवेदी प्यानलकै प्रविन राई एक सय ११ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी नवीनकुमार सिंहले ५५, जंगबहादुर मगरले ३७ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा एक सय आठ मत प्राप्त गरेर पवन महत निर्वाचित भए भने सचिवका उम्मेदवारहरू सदन राईले ५२, प्रवल पौडेलले ३१ र विनय चौरेलले १२ मत ल्याए ।
सहसचिवमा अनिशा ढकालले एक सय दुई मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी सरोजगोपाल डीसीले ५२ र रामप्रसाद सापकोटाले ४१ मत ल्याए ।
कोषाध्यक्षमा सुरज पाण्डे एक सय मत ल्याएर विजयी हुँदा यमुना सुवेदीले ६० र सकुन्तला भट्टले ३९ मत प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यमा निर्वाचित डल्ले गुरुङ एक सय ४३, सानुकाजी महर्जन एक सय १२, निरज दाहाल एक सय चार, सन्तोषकुमार यादव एक सय २२, ज्योती साह ९९ र सुदाम सुवेदीले एक सय १६ मत ल्याएका छन् ।