तनहुँ । बन्दीपुर गाउँपालिकाका किसान च्याउखेतीतर्फ आकर्षित बनेका छन्। तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन्।
उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिन थालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन्। तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँमा च्याउखेतीका लागि तालिम, बिउबिजन, प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री उपलब्ध गराएको थियो।
गत पुसमा गाउँपालिकाबाट तालिम लिएपछि २४ किसानले ३.६ मेट्रिक टन च्याउ उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेका कृषि शाखाका अभिषेक भट्टराईले जानकारी दिए। उनीहरूले उत्पादन गर्न थालेको च्याउ स्थानीय बजारमा खपत हुँदै आएको छ। च्याउबाट लक्षित गरिएको उत्पादन हुँदा सात लाख रुपैयाँसम्म आम्दानी किसानले गर्नसक्ने भट्टराईको भनाइ छ।
तालिमपछि च्याउखेतीतर्फ लागेकी बन्दीपुर गाउँपालिका–५ फलामडाँडाकी सपना गुरुङले ६ हजार बराबरको च्याउ बेचेको बताइन्। उत्पादित च्याउ गाउँमै बिक्री भएको र घरखर्च चलाउन सहयोग पुगेको उनले जानकारी दिइन्। गाउँमा सामान्य खेती किसानीमात्र गर्दा जीविकोपार्जनमा गाह्रो भएको र अहिले कम मेहनतबाट पनि नगद आम्दानी गर्न सकिने नले बताइन्।
यस्तै, बन्दीपुर–६ केराबारीकी धनकुमारी गुरुङले तालिमबाट आफूले धेरै कुरा सिकेको र भविष्यमा थप लगानी गरेर व्यावसायिक च्याउखेती गर्ने सोच बनाएको बताउनुभयो। तालिम लिएका किसानले कन्य च्याउखेती गरेका छन्। कन्य च्याउ ढुसी धागोजस्तो मसिनो र सेतो रङको हुन्छ। यो च्याउखेती धानको पराल वा गहँुको छवालीमा गर्न सकिन्छ। गर्मी र जाडो दुवै मौसममा गर्न सकिने यो खेतीबाट किसानले पर्याप्त लाभ लिन सक्छन्।
एक किलो परालबाट सरदरमा ५०० देखि ६०० ग्रामसम्म च्याउ उत्पादन गर्न सकिन्छ। बन्दीपुर गाउँपालिका- ३ की चन्द्रकला भट्टराईले आम्दानीको सम्भावना देखेर तालिम लिई च्याउखेती गर्न थालेको बताइन्।आफूले सिकेको ज्ञान र सिप गाउँका अन्यलाई पनि बाँड्ने गरेको उनले जानकारी दिइन्।
यस क्षेत्रमा च्याउखेती गर्नेमा अधिकांश महिला छन्। घरायसी कामसँगै आम्दानी पनि हुने भएपछि च्याउ उत्पादनमा संलग्न भई आत्मनिर्भर बन्ने दिशामा उनीहरु अग्रसर भएका हुन्। उत्पादित च्याउ बजारमा बिक्री गर्न सहजीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। उत्पादित च्याउ जिल्लाको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरका होटल तथा रेष्टुरेन्ट, डुम्रे बजार, दमौलीलगायत क्षेत्रमा लैजान गाउँपालिकाले पहल गर्ने उनको भनाइ छ । (रासस)