ललितपुर । सहरी क्षेत्रका साना सडक तथा चोकलाई सुरक्षित बनाइ ती स्थानमा सवारिसाधन व्यवस्थापन गर्न समुदाय र सुरक्षाकर्मी एकीकृत भइ अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ ।
‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ नाराका साथ आज ललितपुर महानगरपालिका–२५ भैँसेपाटीको प्रगतिनगर चोकमा आयोजित अन्तरक्रियाका वक्ताहरूले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरीबीचमा साझेदारी गर्नुपर्नेमा जोड दिए ।
प्रगतिनगर सडक विस्तार तथा स्तरोन्नति उपभोक्ता समितिका अध्यक्ष दिनेश अम्गाईले टोलको विकास र स्थानीय आवश्यकतालाई पूर्ति गर्न सबै एक हुनुपर्नेमा जोड दिए । टोलवासी एवं प्रहरीबीचको सौहार्दताले समाजलाई सुरक्षित राख्न सहयोग पुग्ने उनको विश्वास रहेको छ ।
प्रहरी प्रभागं भैँसेपाटी बुङ्मतीका प्रहरी निरीक्षक शशिधर शर्माले टोलवासीलाई एकताबद्ध भएर सुरक्षा निकायसँग सम्पर्कमा रहन आग्रह गरे । उनले टोलमा अव्यवस्थित पार्किङ नगर्न सुझाव पनि दिएका छन् ।
सो अवसरमा स्थानीयवासी डा लक्ष्मण न्यौपानेले टोल समाजको विकासको स्तर उकास्न टोलवासी एकताबद्ध हुन आग्रह गरे । उनले सडकमा अनावश्यक पार्किङ नगर्न र फोहर नफाल्न आग्रह गर्दै सबैको बलबाट समाजलाई सुरक्षित र सफा राख्न मद्दत पुग्ने बताए । कार्यक्रममा प्रगतिनगरदेखि शिवमन्दिरसम्मका टोलवासीको उपस्थिति थियो । रासस

























