काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।
राष्ट्रपति पौडेल आइतबार बिहान बर्न अस्पताल पुगेर अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।
राष्ट्रपति पौडेलसँगै सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल र हरिप्रसाद मैनालीलगायत मन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न अस्पताल पुग्नु भएको थियो ।
उहाँहरुलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले स्वास्थ्य अवस्था, स्वास्थ्योपचार र उपचार प्रक्रियाबारे जानकारी दिएका थिए ।
उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा आगो लागेर घाइते भएका थिए । उनीहरुलाई शनिबारै हेलिकोप्टरबाट काठमाडौं ल्याएर बर्न अस्पताल कीर्तिपुरको आइसियुमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउने क्रममा स्पार्क मेसिनबाट निस्किएका झिल्काहरूले वेलुनलाई भेटेपछि दुर्घटना हुन पुगेको थियो । बेलुन फुट्दा आगोको झिल्काले उनीहरुको हात र अनुहारमा जलन भएको थियो ।