काठमाडौं । पाथीभरामा केबलकार निर्माण हुँदा त्यहाँको धार्मिक सांस्कृतिक तथा पर्यटन प्रवद्र्धन, कृषि, हस्तकलाको विकासमार्फत व्यवसायको प्रवद्र्धनका साथै स्थानीयका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने र देशकै पर्यटन विकासमा नयाँ आयाम थपिने भएकाले स्थानीयवासी, जनप्रतिनिधि, संघसंस्था, उद्योगी–व्यापारी, वुद्धिजीवी, राजनीतिक दलका नेता, कार्यकर्ता सवै केवलकार बन्नुपर्ने र कुनै पनि हालतमा बनाउनै पर्ने पक्षमा छन् ।
पाथीभरा केबलकार बन्न लागेको स्थल ताप्लेजुङको फुङलिङ नगरपालिकाका जनप्रतिनिधिले भने झै स्थानीयवासीहरु कोही पनि केबलकारको विपक्षमा देखिएका छैनन्, केही स्थानीय, अन्य जिल्ला र विदेशमा वस्नेहरुले विरोध गरेका छन् । पहिला केही स्थानीयले आफ्नो स्वार्थसिद्ध गर्ने उद्देश्यले विरोध गरेका थिए । तर त्यसलाई अवसरका रुपमा प्रयोग गर्दै राजनीतिकरण गरिएको छ । ताप्के भन्दा विँड तातो भने झै ताप्लेजुङका अधिकांस स्थानीयहरु केवलकार निर्माण हुनुपर्ने पक्षमा छन् । तर अन्य जिल्लाका तथा विदेशमा रहेकाहरूले केवलकार निमार्णकाे विराेध गरेका छन् ।
गत सोमबार फुङलिङ नगरपालिकाले पाथीभरा केवलकारका बारेमा स्पष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरेको थियो । सो पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर अमिर मादेन र ७ वटै वडाका वडाध्यक्षले आन्दोलनकारीलाई वार्ताबाट नभाग्न आग्रहसमेत गरेका छन् । सरकारसँगको वार्तामा ताप्लेजुङ बाहिरका मानिस सहभागी भएकाले वार्ता सफल नभएको उनीहरूको निष्कर्ष थियो ।
पत्रकार सम्मेलनमा स्थानीय तहलाई केबलकार निर्माणको अनुमति दिने अधिकार भएकाले त्यो अधिकार आफूभन्दा अगाडिको मेयरले प्रयोग गरेको बताउँदै मेयर मादेनले आफूले त्यसको नवीकरण गरिदिएको बताए । उनले केबलकारको विषयमा राजनीति मिसिएको बताउँदै राजनीतिकरण गरेर ताप्लेजुङको समस्या समाधान नहुने स्पष्ट पारेका थिए ।
मेयर अमिर मादेनले समग्र ताप्लेजुङको विकास र स्थानीय सरोकारको हित हुने भएकाले केवलकार निर्माण गर्न आवश्यक रहेको बताएका छन् । उनले भने, ‘ताप्लेजुङ दशकौंदेखि विकासकै पर्खाइमा रहेको छ ।’
पत्रकार सम्मेलनमा उपस्थित केबलकार आयोजना प्रभावित क्षेत्रका सबै वडाध्यक्षले आफ्नो वडाका जनता केबलकार बनाउनुपर्ने पक्षमा भएकाले बाहिरका जिल्लाबाट अनावश्यक राजनीतिक हस्तक्षेप भएको बताएका थिए ।
ताप्लेजुङका जनता केबलकारको विपक्षमा छन् भनेर फैलाइएको भ्रमप्रति आपत्ति जनाउँदै उनिहरुले मिडियाकर्मीलाई वास्तविक जनताको आवाज बाहिर लैजान आग्रह समेत गरेका छन् ।
केबलकार निर्माण हुने फुङलिङ नगरपालिका–११ फावाखोलाका वडाध्यक्ष युवराज भट्टराईले आफ्नो वडाका शतप्रतिशत जस्तै जनता केबलकारको पक्षमा रहेको र कहिले बन्छ भनेर व्यग्र प्रतीक्षामा रहेको बताएका छन् । ‘नो केबलकार’ भन्नेहरू जिल्लाबाहिरका रहेको भन्दै उनले केबलकार निर्माणमा ढिला गर्न नहुने बताएका छन् । भट्टराई नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
त्यस्तै फुङलिङ–९ का वडाध्यक्ष लक्षुमन गुरुङले अनावश्यक विवाद निकालेर समुदायलाई विभाजित गर्न केही राजनीतिक स्वार्थमा लागेका व्यक्तिहरू सक्रिय रहेको बताए । वडा नम्बर २ का मोहन न्यौपाने, ३ का टंक पालुङवा, ७ का योगेन्द्र निरौला, ६ का तेज गुरुङले केबलकार निर्माण गर्नुपर्ने र आन्दोलनरत समूहलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा फुङलिङ नगरपालिकाका निवर्तमान उपमेयर तथा माओवादी केन्द्रका नेता बमबहादुर भट्टराई, उद्योग वाणिज्य संघका महासचिव कमल लिम्बू, गैरसरकारी संस्था महासंघ ताप्लेजुङका अध्यक्ष खड्गविक्रम सुवेदीले केबलकार निर्माणमा अवरोध पु¥याउन नहुने बताए ।
फुङलिङ नगरपालिकाका प्रतिनिधि र केवलकार निर्माण कम्पनीले भने जस्तै ‘नो केबलकार’ आन्दोलनमा राजनीति घुसेको स्पष्ट देखिएको छ । कोशी प्रदेश नाम खारेजीको आन्दोलनलाई इलाम– २ को उपनिर्वाचनमा लगेर संगठित गरेको ‘पहिचानवादी मोर्चा’ले पाथीभरामा केबलकार बन्न नदिने आन्दोलनको औपचारिक नेतृत्व गर्न पुग्नुले नै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न पाथीभरामा बन्न लागेको केवलकारलाई प्रयोग गरेको देखिन्छ ।
स्थानीय बासिन्दाको नामबाट भइरहेको अवरोध र नो केबलकार अभियानमा ताप्लेजुङका जनप्रतिनिधि, जनमत प्राप्त त्यहाँका राजनीतिक दल र स्थानीय उद्योग व्यवसायीले साथ नदिएपछि पहिचानवादी राजनीतिक दलहरु मैदानमा उत्रिएका हुन् ।
सोमबार पत्रकार सम्मेलनमा इलाम उपनिर्वाचनमा साझा उम्मेदवार दिएर तेस्रो भएको पहिचानवादी मोर्चाका घटकलाई मधेशवादी नेता राजेन्द्र महतोदेखि जसपा, नेशनल मंगोल र नागरिक उन्मुक्ति पार्टीलगायत ९ वटा जातीय, क्षेत्रीय र नेपाल कम्युनिष्ट पार्टीसम्मले साथ दिँदै आमहड्तालसम्मको आन्दोलन घोषणा गर्नुले पाथीभरामा केबलकार निर्माणले संस्कृति मास्छ भन्ने दाबी राजनीतिक मग्सदका लागि मात्र रहेछ भन्ने स्थानीयले मात्र होइन, आम जनताले बुझेका छन् ।
लिम्बू र अन्य जनजाति बाहुल्य इलाममा पहिचानको नारा लगाएर देश–विदेशबाट संगठित पहल गर्दा पनि चुनाव जित्न नसकेको पहिचानवादी मोर्चाले कोशीमा अशान्ति मच्चाउन अर्को वहाना पाथीभरा केबलकारलाई बनाएको घाम जत्तिकै छर्लङ्ग भएको छ ।
धर्म र संस्कृतको अतिक्रमण तथा राज्यको दमन भन्दै नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय मुक्ति पार्टी नेपाल र नेकपा माओवादी लगायत प्रमुख प्रतिपक्षी दलहरु ‘नो केवलकार’ समूहले राखेका मागको पक्षमा देखिएका छन् । विशेषगरी पछिल्लो समय केवलकार निमार्णको विषयले चर्चा पाएसँगै आफ्नो गुमेको राजनीतिक अस्तित्व पुनरागमन गराउन, राजनीतिक क्षेत्रमा अगाडि आउन, चर्चामा रहन र सरकारको विरोधका लागि केवलकारलाई प्रयोग गर्नु दुखद भएको राजनीतिक विश्लेषकहरुले बताएका छन् । विकासको विरोध गरेर राजनीतिक रोटी सेक्न खोज्नुलाई विडम्वना नै मान्नु उनीहरुको तर्क छ ।
धार्मिक पर्यटकीय क्षेत्रलाई सम्वर्धन र प्रवर्धनका लागि केवलकार आवश्यक : सांसद भट्टराई
ताप्लेजुङबाट निर्वाचित एमालेका संघीय सांसद योगेश भट्टराईले पत्रकार सम्मेलन नै गरेर १९ बुँदे ध्यानाकर्षण पत्रमार्फत पाथीभरा क्षेत्रमा केवलकार बनाउनुपर्ने स्पष्ट पारिसकेका छन् । पाथीभरा जस्तो पर्यटकीय क्षेत्रलाई सम्वर्धन र प्रवर्धनका लागि केवलकार बनाउन आवश्यक रहेको उनको तर्क छ । युवालाई रोजगारी, वृद्ध, बालबालिकालाई निःशुल्क अनि ताप्लेजुङवासीलाई ५० प्रतिशत छुट दिन सांसद भट्टराईले माग गरेका छन् । उनले तनावलाई शान्तिपूर्ण समाधान खोज्न राज्य र आन्दोलनकारी दुवै पक्षलाई ध्यानाकर्षण पत्रबाट आह्वान गरेका छन् भने आन्दोलनकारीलाई गृहमन्त्री रमेश लेखकसँग भेटको वातावरण मिलाएर समस्या समधानमा सहजिकरण गरेका छन् ।
सांसद भट्टराईले भनेका छन्, ‘पवित्र कान्छी थानभन्दा केबुलकार करिब २ सय मिटरको दूरीमा रहेको छ, पाथीभराको मूल मन्दिरभन्दा करिब ८ सय मिटरबाहिर केबुलकार स्टेसन निर्माण हुने देखिन्छ, पाथीभराको टुप्पोमा कुनै होटेल वा रेस्टुरेन्ट बन्ने छैन र बन्न दिइने छैन, रुख तथा पोल गरेर २१ सय १२ कटान हुनेछ, बाहिर प्रचार गरिएजस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता छैन ।’
यस्तै ताप्लेजुङ जिल्ला सरोकार समिति पूर्व अध्यक्ष एवं राजनीतिज्ञ तथा समाजसेवी चित्रगुप्त साँवाले केवलकार ताप्लेजुङवासीका लागि विकास भएको बताएका छन् । उनले भने, ‘विकासले संस्कृति र परम्परा मास्दैन्, बरु पाथीभराको प्रचार हुने, पाथीभराको महिमा बढ्ने र स्थानिय तथा बाह्य दर्शनार्थीहरुलाई सहज हुन्छ ।’
‘केवलकारको आवश्यकता ताप्लेजुङबासीले गरेका छन् । ताप्लेजुङमा घर भएका तर सहरतिर बस्दै आएकाहरुले विरोध गरेको सुहाएको छैन । पहिचानवादी त म पनि हो तर ताप्लेजुङको विकासका लागि हो । जसरी अहिले केवलकारको विषयलाई राजनीतिकरण गर्नु आवश्यक छैन ।’
वाह्य हस्तक्षेपसहित अवरोध हुनु दुखद्ः निजी क्षेत्र
निजी क्षेत्रका तीन ठूला संगठनले ताप्लेजुङमा निर्माणाधीन पाथीभरा केबलकारको विरोधमा भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पाथीभरा केबलकार परियोजनाको विषयलाई लिएर कोशी प्रदेशका जिल्लाहरूमा भइरहेको बन्द हडतालले त्यहाँको शैक्षिक, आर्थिक तथा सामाजिक जनजीवन समेत अस्तव्यस्त भएको छ भने आम नागरिकले सास्ती भोग्नु परेको भन्दै असन्तुष्टी जनाएको हो ।
सो क्षेत्रको विकासका लागि केवलकार निर्माण अपरिहार्य रहकोमा स्थानीय तह र स्थानीय बासिन्दाहरु सहमत रहनु र बन्नु पर्छ भन्ने धारणा राखिरहेको सन्दर्भमा केवलकार बन्न दिनु हँदैन भनेर बाह्य हस्तक्षेप सहित केवलकार निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा लिएको निजी क्षेत्रका संगठनहरुको भनाइ छ ।
‘विकासमा देखिएको यो अवरोध कुनै एउटा परियोजनाको विरोध मात्रै नभएर देशको पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण विथोलिने अवस्था सिर्जना हुनुको साथै नेपालमा लगानी गर्ने लगानीकर्ताहरुलाई यसले नकारात्मक सन्देशब प्रवाह गर्नेछ । यस्तै देशका अन्य भागमा हुने विकास निर्माणका कार्यलाई समेत गम्भीर असर गर्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
कुनै पनि विषयमा समस्या सिर्जना भएमा वार्ताका माध्यमबाट ती समस्याको हल गर्न सकिने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘विकासका कार्यहरू सबैको हितका लागि हुने भएकाले विकासलाई अवरोध गर्ने कार्यले दीर्घकालीन हित गर्दैन । यो अवस्थामा विकासको यो प्रयासलाई सकारात्मक रूपमा ग्रहण गर्न र पाथिभरा (मक्कुम्लुङ) केवलकार परियोजनालाई सहज र निर्वाध रूपमा अघि बढाउन स्थानीय समुदाय, सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई निजी क्षेत्र हार्दिक अपिल गर्दछ ।’
पाथीभरा केबलकार परियोजनाले पाथिभरा (मक्कुम्लुङ) जान चाहने बद्धबृद्धा, अशक्त बालबालिका सहित अन्य यात्रुहरूलाई सुरक्षित, छिटो र सुविधाजनक यात्रा उपलब्ध गराउने विश्वास निजी क्षेत्रको छ ।
केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछः चन्द्र ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको स्वीकृति लिएर कानुनी प्रक्रियाअनुसार नै विकासका काम गरिरहँदा केवलकार निर्माणको विरोध गरेर राजनीतिक स्वार्थ र रोटी सिकाउने काम भइरहेको बताएका छन् । हालै आयोजित पत्रकार सम्मेलनमा पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै दुस्प्रचार गरिएको वताउँदै अध्यक्ष ढकालले भने, ‘अहिलेको आन्दोलन तथा अवरोध स्थानीय जनताले नभएर बाहिरका पहिचानवादी राजनीतिक अभियन्ता र विदेशमा बस्ने उनीहरुका आर्थिक स्रोतहरुले गरेका हुन् ।’
पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको थियो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमती लिएको थियो । करिब दुईवर्ष अघि पाथीभरा केबलकारमा आइएमई समूहको प्रवेशसँगै यो आयोजना निर्माणले गति लिन थालेको हो । नेपाल सरकारबाट प्राप्त गर्नुपर्ने सबै सरकारी तथा कानुनी अनुमतीहरु प्राप्त गरेपछि यस आयोजनालाई राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गत समावेश गरी आयोजना अघि बढाउने काम भएको अध्यक्ष ढकालले बताएका छन् ।
आइएमई समूहले मुलुकका सातवटै प्रदेशमा केबलकार सहितका पर्यटकीय गन्तब्यहरु बनाउने उद्देश्यसहित २०७९ सालमा पाथीभरा केबलकारको ठूलो शेयर लिएर काम अगाडि बढाएको थियो ।
स्थानीय अर्थतन्त्रमा यसको प्रभाव
केबलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर नपर्ने अध्यक्ष ढकालले बताएका छन् ।
केबलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारिरीक रुपमा अशक्त र उकालो ओरालो हिड्न नसक्नेहरुका लागि सहज हुनुका साथै सम्पूर्ण तिर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने छ । हिँडेर जान चाहनेहरुको लागि अहिले भइरहेको बाटोमा केबलकारले कुनै बाधा पु¥याउने छैन । यसका साथै स्वदेशी तथा विदेशी तिर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास लिइएको अध्यक्ष ढकालले बताएका छन् ।
पाथीभरा केबलकारको अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको वताउँदै अध्यक्ष ढकालले केबलकार निर्माणपछि करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुने र यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइने बताएका छन् । साथै आइएमई ग्रुपका यस अघिका पर्यटन पूर्वाधारहरुमा जस्तै पाथीभरा केवलकारमा पनि स्थानीयलाई आयोजनाको शेयर तथा लगानीको अवसर मिल्ने स्पष्ट पारेका छन् ।
केबलकार विश्वमा अहिले प्रचलनमा रहेका यातायतका साधनमध्ये सबैभन्दा सुरक्षित र वातावरणमैत्री यातायातको साधन हो । विद्युतीय यातायातको यस साधनले कुनै पनि किसिमको प्रदुषण नगर्ने हुनाले यसलाई दिगो विकासको मापदण्डभित्र राखिएको छ ।
वातावरणमा हुने प्रभावलाई कम गर्न केबलकारको एलाइनमेन्ट क्षेत्रभित्र काट्नुपर्ने १ रुख बराबर २५ रुखका दरले बृक्षारोपण गरी ती विरुवालाई ५ वर्षसम्म स्याहार तथा संरक्षण गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने बताउँदै अध्यक्ष ढकालले यस केबलकार आयोजना सञ्चालन हुँदा पनि जैविक विविधता र वातावरण विग्रिने नभई यसलाई जोगाउन थप सहयोग पुग्ने बताएका छन् ।
केबलकार निर्माण हुँदा तिर्थयात्री तथा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने र यसले स्थानीय उत्पादन (कृषि, घरेलु तथा हस्तकलाका सामग्री) प्रवद्र्धनमा ठूलो भूमिका खेल्नेछ । आर्थिक गतिविधिको विकास र विस्तारसँगै मेची हाइवेको झापा तथा तमोर कोरिडरको सुनसरीको बराह क्षेत्रदेखि नै होटल, रेष्टुरेन्ट, यातायातलगायत थुप्रै क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विस्तारमा उल्लेख्य वृद्धि हुने र यसबाट राज्यलाई समेत कर तथा राजश्व वृद्धि हुनेछ ।
विकट भौगोलिक अवस्थिति, हाइ अल्टिच्युड र ठाडो उकालो बाटोले गर्दा तीर्थयात्री तथा पर्यटकलाई मन्दिरसम्मको आवागमन अत्यन्तै कठिन छ । अझ हिड्न नसक्ने, विरामी, अशक्त, बालबालिका र बृद्धबृद्धाहरुलाई त त्यहाँसम्म पुग्न निकै संघर्षमय नै हुन्छ । पैसा तिर्न सक्नेहरु मान्छेलाई बोक्न लगाएर प्रति किलो २०० रुपैयाँसम्म तिरेर मन्दिरसम्म पुग्ने गरेको पाइन्छ ।
यसरी एक जनाको १०,००० देखि १५–२० हजारसम्म पर्ने गरेको तीर्थयात्रीहरुको गुनासो छ । हुनेखानेका लागि त हेलिकप्टर चार्टर्ड गरी पाथीभरा मन्दिर पुग्ने व्यवस्था पनि छ । त्यसैले आम नागरिकलाई पाथीभरा देवीको दर्शनलाई सहज बनाउने, अहिलेको तुलनामा तीन चार गुणा तीर्थयात्री/पर्यटक भित्र्याउने, स्थानीयलाई रोजगारी र स्वरोजगारीको अवसर सृजना गर्ने, नागरिकको जीवनस्तर सुधार्ने, वातावरण र जैविक विविधता जोगाउने उष्कृष्ट यातायातको एकमात्र माध्यम केबलकार हो ।
यसका अतिरिक्त केबलकारले आर्जन गरेको नाफाको केही प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय निकायमार्फत स्वास्थ्य, शिक्षा, स्थानीय पूर्वाधारलगायतमा खर्च गरिने कुरा आयोजनाले स्पष्ट गर्दै पनि आएको छ ।
केबलकार यातायातको साधन मात्र भएकाले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता पु¥याउँछ । पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले यहाँ केबलकार निर्माणले कुनै धर्म र जाती विशेष या संस्कार संस्कृति एवम् हाल भइरहेका संरचनामा केही असर गर्दैन बरु थप मजबुद बनाउन र यात्रा सहजताले आन्तरिक तथा वाह्य पर्यटक आगमन वृद्धि गर्न ठूलो सहयोग पु¥याउँछ । त्यसैले केवलकार निर्माणमा अवरोध होइन, सबैले सहयोग गर्न आवश्यक छ ।