काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महाधिवेशन अन्तर्गत आजबाट नेतृत्व चयन प्रकिया सुरु भएको छ ।
तीन दिनदेखि काठमाडौँमा जारी महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराईलाई नेत्र चापागाईले चुनौती दिएका छन् भने दुई उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् ।
महिला उपाध्यक्षमा मानुषी यमी भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोबको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । निर्वाचन आयोगका प्रमुख रामकुमार पुरीका अनुसार ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सयभन्दा धेरैको उम्मेदवारी परेको छ ।
अध्यक्षमा डा. भट्टराईलाई चुनौती दिँदै उम्मेदवारी दिएका चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनमा अध्यक्षसमेत भइसकेका नेता हुन् ।
प्रक्रिया पूरा गरेपछि आजै दिउँसो ३ बजेबाट नयाँ नेतृत्व चयनको लागि मतदान गराउने तयारी निर्वाचन आयोगले गरेको छ । केन्द्रीय समितिमा ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् चुनिने छन् भने ९ जना मनोनीत हुने व्यववस्था नेसपा नयाँशक्तिको छ ।
आदिवासी जनजाती उपाध्यक्षमा रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुपसिंह सुवाल र दलबहादुर लिम्बुको उम्मेदवारी परेको छ । मधेशी उपाध्यक्षमा उमेश साह र चिनक कुर्मीको उम्मेदवारी परेको छ । महासचिवमा घमानसिंह गुरुङ, सोनाम सिंह स्याङ्तान र राजु नेपालको उम्मेदवारी परेको छ ।
त्यस्तै खुला सचिवमा भरतराज दाहाल, दानबहादुर सहकारी, लक्ष्मण कार्की र छन्दबहादुर पन्थीको उम्मेदवारी परेको छ। त्यसैगरी महिला सचिवमा श्रीजना सुवेदी, आशाकुमारी तामाङ र सृजना रिजालले उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरि कोषाध्यक्षमा हरिप्रसाद रिजाल र गोकर्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।
नेसपा नयाँ शक्तिले समावेशी समानुपातिक आधारमा दलित, आदिवासी जनजाति, खसरआर्य, मधेशी, थारु, मुस्लिम र धार्मिक, यौनिक तथा जातीय भाषिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति छनोटको आधार तय गरिएको जनाएको छ ।
अध्यक्षमा डा. भट्टराईलाई सर्वसम्मत गराउने प्रयास भएपनि चापागाईले पार्टी नेतृत्व पुस्तान्तरण हुनुपर्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिएका हुन । उनले युवा पुस्ताबाट जोसुकैलाई अध्यक्ष बनाए पनि आफूलाई स्वीकार हुने तर पुरानै नेतृत्व स्वीकार्न नसक्ने भन्दै अध्यक्षमा दावेदारी पेश गरेका हुन । चापागाईले डा. बाबुराम भट्टराले भूमिगतकालमा लगाउने गरेको टोपी लगाएर मैदानमा उत्रिएका छन् । बाबुरामले लगाउने छाडेको र चपागाईले लगाएको टोपीको नाम नै कतिपयले ‘बाबुराम टोपी’ राखेका थिए ।