काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘ब्रेक थ्रु’ गर्दैछन् ।
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायतको उपस्थितिमा सुरुङमार्ग छिचोलिन लागेको हो ।
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।
सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग छेडिन अब १.८ मिटर मात्र बाँकी छ । १ हजार १ सय २६ मिटरको सुरुङ मध्ये खन्नुपर्ने भाग १ हजार ८९ मिटरमै जोडिएको छ । जसमध्ये ‘ब्रेक थ्रु’का लागि १.८ मिटर बाँकी राखेर १ हजार ८ सय ७.२ मिटर सुरुङ खनेर सकिएको छ ।
प्रधानमन्त्री ओलीले रिमोट थिचेर १.८ मिटर भागलाई ब्लास्ट गर्ने कार्यक्रम छ । यसअघि नै तीन वटा बाइपास टनेल मुख्य टनेल सम्म जोडिएको छ । बाइपास एक– १ सय ५१, दुई– १ सय ६१ र तीन– १ सय ३० मिटरको रहेको छ ।
सुरुङमार्ग र बाहिरी भागको सुरक्षाको कामका लागि चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का लिएको छ ।