काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुवै सदनका अधिवेशन बोलाएका हुन् । सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।
सोबमोजिम राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्ने गरी दुवै सदनका अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको छ ।