झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्यांकनुसार (साउन–पुस)सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।
सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए ।
गत आव २०८०/८१ को सोही अवधिमा रु एक अर्ब ९० करोड ५ लाख ६ हजार बराबरको चिया निर्यात भएको थियो ।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।
चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
कार्यालयको तथ्यांकनुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैँचीको निर्यात १६ दशमलव सात प्रतिशतले बढेको छ ।
चालु आवको ६ महिनामा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा रु तीन अर्ब ९० करोड ५८ लाख ०६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्यांकनुसार प्लाइउड २७.९०, सिमेन्ट क्लिंकर चार हजार १४१, भेनियर सिटको निर्यात २३६ प्रतिशतले वृद्धि भएको छ ।
फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, फलामलगायत वस्तुको निर्यातमा कमी आएको छ ।
पूर्वी नाकामा रहेको मेची भन्सारबाट चालु आवको ५ महिनामा १३ अर्ब ८४ करोड चार लाख ३९ हजारको मालवस्तु निर्यात भएको छ । (रासस)