काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नै फुटेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बुहमत केन्द्रीय समिति सदस्यहरुले वामदेवबाट अलगिएको घोषणा गरेका हुन । अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश इन्चार्ज थिए ।
वामदेवको अभियानबाट अलग हुनेहरुमा कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेलगायत छन् ।
विचार मिल्ने नेकपा (माओवादी केन्द्र) लगायतका विभिन्न वामपन्थी दलसँग एकता वा समायोजनको लागि वार्ता गर्ने गरी अर्यालको संयोजकत्वमा ४ सदस्य वार्ता समितिसमेत गठन गरेका छन् । काफ्ले, सुब्बा र भट्टराई उक्त समितिमा सदस्य रहेका छन् ।
वामदेव निःशर्त ढंगले एमालेमा प्रवेश गर्नुपर्छ भन्ने ढंगले अगाडि बढेपछि विभाजनको बाटो रोज्नुपरेको उनीहरुले बताएका छन् ।