काठमाडौं । कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरुबीच छलफल भएको छ । शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक र प्रमुख सचेतकहरूबीच छलफल भएको हो ।
एमाले मुख्य सचेतक महेश बर्तौलाका अनुसार संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषयमा छलफल भएको छ । कन्टेन र विधेयक अगाडि बढाउने प्रक्रियामा एक ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष निस्किएको बताउँदै बर्तौलाले हाउस र संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि छलफल भएको जानकारी दिएका छन् ।
५/६ वर्षसम्म विधेयक सदनमा रहने अवस्था तोड्न पहल लिने र यसका लागि प्रतिनिधिसभा नियमावलीमा आवश्यक प्रबन्ध गर्ने विषयमा छलफल भएको उनले बताएका छन् ।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका मुख्य सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए ।