काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राति राति अध्यादेश जारी गरेको भन्दै भ्रम फैलाइएको बताएका छन् ।
बुधबार अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले आफूहरूले १०-५ को विद्यालय नचलाएको प्रस्ट पारे ।
उनले संसदले पनि नभ्याएको बेला राति रातिसम्म काम गर्ने गरेको बताए । ‘कुनै कानुन राति बनाउन पाइँदैन भन्ने छैन। संसदले पनि राति काम गर्छ। राम्रो काम कति बजे गर्नु हुँदैन भन्ने छैन,’ उनले भने, ‘राति पनि बत्ति बालेरै गर्ने हो। अंक हेरेरै गर्ने हो। यो रात दिन भन्नेहरू अफबाह फैलाउने कुरा मात्र हुन्। यो राम्रो तरिका पनि होइन। यस्ता कुरा स्विकारिँदैन,’ उनले भने।
उनले २९ वटा कानुन संशोधन गरेर अध्यादेश ल्याइएको बताए । जनताको हितमा काम गर्न, विकास निर्माण र समग्र सुशासनलाई प्रभावकारी ढंगले अगाडि बढाउन ती कानुनहरू संशोधन गरिएको प्रधानमन्त्रीको भनाइ छ । तर, राष्ट्रपतिले अध्यादेश रोक्यो भन्ने भ्रम फैलाइएको उनले बताए।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नक्कली वक्तव्य जारी भएकोप्रति पनि असन्तुष्टि पोखे । ‘कांग्रेसका सभापति शेरबहादुर देउवाजीको नक्कली वक्तव्य आयो । यस्तोसम्मको जाली काम, सत्यलाई तोडमोड गर्ने काम भइरहेको छ। यी सबै भ्रमहरूको पर्दाफास अध्यादेशले गरेको छ भन्ने मलाई लागेको छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेको शीर्ष नेतृत्व तह, व्युरोक्रेसीको शीर्ष नेतृत्व र विशेषज्ञसँगको विस्तृत छलफल र सल्लाहमा अध्यादेश जारी गरिएको बताए । सरकारमा रहेका दलहरूमा पूर्ण सहमति छ । कुनै दलको पनि फरक मत छैन,’ उनले भने ।