काठमाडौँ । कुमारीनगर सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बुढानीलकण्ठ वडा नं १० मा रहेको सो सहकारी संस्थाको वार्षिक साधारण सभा पुस २७ गते शनिबार मिलनचोक पार्टी भेन्यु पञ्चकुमारी स्थानमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष रोहितकुमार पौडेलको अध्यक्षतामा आयोजना गरिएको साधारण सभामा अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्षको वार्षिक प्रतिवेदन र लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाकी पूर्व अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य मिना पराजुली प्रमुख अतिथिका रुपमा रहेको कार्यक्रममा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । सोही अनुसार कार्यक्रममा संस्थाका शेयर सदस्यका एसइईमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी, बाल बचत, असल बचतकर्ता गृहिणी र ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । २०८० सालको एसइईमा ३ दशमलब ७७ जिपिए प्राप्त गर्ने शेयर सदस्य यज्ञप्रसाद चौलागाईँका छोरा वसन्त चौलागाईलाई प्रमाणपत्र र नगद, बाल बचतकर्ता हार्दिकता सुवेदीलाई नगद, असल बचतकर्ता गृहिणी मञ्जला भट्टराईलाई नगद तथा ज्येष्ठ नागरिक ठाकुरप्रसाद खकुरेललाई दोसल्ला र नगदबाट सम्मानित गरिएको थियो ।
प्रमुख अतिथि मिना पराजुलीले शुभकामना मन्तव्य राखेको सो साधारण सभामा संस्थाका व्यवस्थापक प्रमोद देवकोटाले संस्थाको आर्थिक गतिविधिबारे प्रकाश पारेका थिए ।
संस्थाका सचिव डोरप्रसाद आचार्यले सञ्चालन गरेको सो साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा समिति सदस्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि छलफल, टिप्पणी र सुझावसहित ध्वनिमतले पारित गरेको थियो । साथै सो सभाले लेखा परीक्षकको पारिश्रमिक निर्धारण, साधारण सभाले पारित गरेको निर्णयलाई प्रमाणित गर्न १० जना शेयर सदस्यहरुको चयन ग-यो ।
साथै सो कार्यक्रममा उपस्थित हुने शेयर सदस्यहरुलाई चियानास्ता र यातायात खर्चको पनि व्यवस्था गरिएको थियो ।