काठमाडौं । उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला आज आफैँ अदालतमा हाजिर भएकी थिइन् ।
मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।
मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी कोइरालाविरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएपछि उनी फरार थिइन् ।
गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरू विरुद्ध मुद्दा दायर गरेको थियो ।