काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्याङ्कन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नबुझाएपछि स्पष्टीकरण सोधिएको हो ।
मन्त्रालयले घिसिङलाई सोधेको यो तेस्रो स्पष्टीकरण हो ।
ऊर्जा सचिव सुरेश आचार्यले सात दिनभित्र पेस गर्ने गरी सोमबार ९ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
स्पष्टीकरणमा यस अघि मागिएको १५ बुँदे, ६ बुँदे र ३ बुँदे विवरण स्पष्ट रूपमा पेस नगरेको, ऊर्जा मन्त्रालयले गठन गरेको टिओडी मिटर जाँच गर्न गठित समितिलाई डेटा नदिएको, नोट अफ डिसेन्ट लेखेको लगायत विषयमा उल्लेख छ ।