काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका आफ्ना स्वकीय सचिव अनिल कुमार पोखरेललाई हटाएका छन् ।
अनिलविरुद्ध ठगी आरोपमा उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरिएको सभापति पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन् ।
एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिल २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए ।
एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । अनिलविरुद्ध प्रहरीले उजुरी लिन नमानेको भन्दै चौधरीले उच्च अदालत विराटनगरमा २०७९ सालमा मुद्दा दर्ता गराएका थिए । उनीविरुद्ध उजुरी दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिव पदबाट हटाएका हुन् ।
सभापति पोखरेलले संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिलमाथि लागेको आरोपहरुको अनुसन्धानमा सहयोग पुगेस भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको जानकारी समेत गराएका छन् । सभापति पोखरेलले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् ।