काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ। बुधबार नेप्से ५.१० अंकले बढेर दुई हजार पाँच सय ८१.६० विन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो।
आज ३०९ कम्पनीको ९४ लाख ३४ हजार नौ कित्ता सेयर ४३ हजार ७२९ पटक खरिद–बिक्री हुँदा रु. तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो।
मंगलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि भएको छ। वित्त समूह ३.८७, विकास बैंक १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ। त्यस्तै, होटेल तथा पर्यटन ०.९५, लगानी ०.०९, उत्पादन तथा प्रशोधन ०.२५, निर्जीवन बिमा ०.२२ र व्यापार समूह ०.६३ प्रतिशतले बढेको छ।
अरू समूहको उपसूचकमा भने गिरावट देखिएको छ। बैंकिङ ०.७२, जीवन बिमा ०.०६, लघुवित्त ०.१६, म्युचुअल फन्ड ०.१७ र अन्य समूह ०.४१ प्रतिशतले घटेको हो।
त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सपाेर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ। कम्पनीको रु. २१ करोड ८२ लाख १७ हजार तीन सय ४९ बराबरको सेयर खरिद–बिक्री भएको छ। कारोबार सेयर संख्याका आधारमा १७ लाख ३४ हजार पाँच सय ८९ कित्ता सेयर किनबेच भएको सनराइज ब्लुचिप फन्ड शीर्ष स्थानमा छ ।