काठमाडौं । भारतका सर्वाधिक चर्चित गायक सोनु निगम आज काठमाडौंमा गुन्जिदैछन् । क्रिसमस डेको अवसर पारेर ‘सोनु निगम लाइभ इन नेपाल’ शीर्षकमा आज काठमाडौंको वौद्धस्थित हायात होटल परिसरमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुँदैछ ।
आयोजक नेपाली–टच नेपालका अनुसार कन्सर्टलाई लिएर संगीत प्रेमी दर्शकहरुमा उत्साह देखिएका छन् । कन्सर्टलाई भव्य बनाउनका लागि भरमग्दुर प्रयास गरिएको छ ।
स्टेज बनाउने काम अन्तिम चरणमा पुगेको र दर्शकका लागि ४ बजे गेट खुला गरिने आयोजनाले जनाएका छन् ।
आज नेपाल आइपुग्ने सोनु निगम राती १० बजे स्टेज चढ्ने र तीन घण्टा स्टेजमा रहने बताइएको छ । उनी बिहीबार स्वदेश फर्किने बताइएको छ ।
उनले नेपाली गीत पनि गाउने आयोजकले जनाएको छ । ७० प्रतिशत टिकट विक्रमी भइसकेको र कन्सर्टमा १० हजार दर्शकको उपस्थिति रहने अपेक्षा आयोजकले जनाएका छन् ।
निगम २१ वर्षअघि व्यक्तिगत कारणले नेपाल आइपुगेका थिए । तर, दर्शकबीच भने यो नै उनको पहिलो प्रस्तुति हुनेछ । निगमलाई नेपाल ल्याउने तयारी सुरु भएको करिब ६ महिना भयो ।