काठमाण्डौ । देशबाट बाहिरिनेभन्दा भित्रने रकमको मात्रा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा एक खर्ब ५० अर्ब २४ करोड रुपैयाँले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको यही अवधिमा एक अर्ब १३ करोड रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५३ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै, चालु खाता एक खर्ब ४३ अर्ब ४२ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको यही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको थियो । समीक्षा अवधिमा पाँच अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह तीन अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल वस्तु निर्यात चार दशमलव दुई प्रतिशतले बढेर ५२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो निर्यातमा सात दशमलव सात प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारततर्फको निर्यातमा आठ दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १८ दशमलव तीन प्रतिशत र अरु देशतर्फ तीन प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा सोयाविन तेल, चिया, पोलिस्टर यार्न तथा थे्रड, पार्टिकल बोर्ड, पिनालगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, तयारी पोशाक, जुस, अदुवालगायत वस्तुको निर्यात घटेको छ ।
यस्तै कुल वस्तु आयात शून्य दशमलव दुई प्रतिशतले बढेर पाँच खर्ब १३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो आयातमा तीन दशमलव आठ प्रतिशतले कमी आएको थियो ।
वस्तुगत आधारमा यातायात उपकरण, गाडी तथा गाडीका स्पेयर पार्टस, खानेतेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्टस्लगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पार्टस, विद्युतीय उपकरण लगायत वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कन्चनपुर, रसुवा र तातोपानी भन्सार कार्यालयबाहेकका सबै प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । यस्तै कुल वस्तु व्यापार घाटामा शून्य दशमलव तीन प्रतिशतले कमी आई चार खर्ब ६० अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।
यस्तै चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले बढेको छ ।
केन्द्रीय बैंकका अनुसार गएको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलव पाँच प्रतिशतले बढेर गएको कात्तिक मसान्तमा २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असार मसान्तमा १५ अर्ब २७ करोड रुपैयाँ रहेकामा गएको कात्तिक मसान्तमा नौ दशमलव चार प्रतिशतले वबढेर १६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । (रासस)