काठमाडौं । नेपाल उद्योग परिसङ्ले विभिन्न ११ देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक कूटनीतिमा केन्द्रित रहेर छलफल गरेको छ । सोमबार साँझ भएको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरेका छन् ।
नेपालमा लगानीकर्ताहरूलाई पुँजी परिचालनमा अभिप्रेरित गर्न, निर्यात प्रवर्द्धन गर्न देश केन्द्रित बेग्लै आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकिनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको सन्दर्भमा लगानी भित्र्याउन त्यो सहयोगी बन्ने विश्वास व्यक्त गर्दै उनले सन् २०२६ मा मुलुक मध्यमआययुक्त विकासशील देशमा स्तरोन्नति हुने भएकाले अन्तर्राष्ट्रिय क्षेत्रबाट देशले पाउँदै आएको सुविधा नघट्ने वातावरण बनाउन प्रस्तावित राजदूतहरूसँग आग्रह गरेका छन् ।
परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृत बहादुर राईले देशको प्रतिनिधिको रूपमा राजदूतहरूले नेपाली वस्तुहरूको प्रवर्द्धन, नेपाली व्यवसायीहरूलाई सहजीकरण गर्ने बताए । उनले नेपाली व्यावसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा सघाउन आग्रह गरेका छन् ।
उच्च व्यापार घाटा कम गर्न, नेपाली उत्पादनको प्रवर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत् पूर्वाधार विकासमा लगानी केन्द्रित गर्न आफूहरू लाग्ने प्रस्तावित राजदूतहरूले व्यक्त गरे ।
छलफलमा प्रस्तावित राजदूतहरू डा. शङ्कर शर्मा, सेवा लम्साल, चित्रलेखा यादव, चन्द्रकुमार घिमिरे, डा।सुम्निमा तुलाधर, डा. जङ्गबहादुर चौहान, प्राध्यापक कपिलमान श्रेष्ठ, प्रकाशमणि पौडेल, डा. शिवमाया तुम्बाहाम्फे, डा. पूर्णबहादुर नेपाली र डा. नेत्रप्रसाद तिम्सिना सहभागी थिए । रासस

























