काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतकमा १६७ रनको योगफल तयार गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको योगफल तयार पारेको हो ।
खराब सुरुवात गरे पनि पौडेल र जफरले उत्कृष्ट ब्याटिङ गर्दै खेललाई लयमा फर्काए । टीम संकटमा रहेका बेला पौडेलले उत्कृष्ट ब्याटिङको नमूना पेश गरे ।
लगातार चार खेल हारेको लुम्बिनीले प्लेअफको दौडमा कायम रहनका लागि आज जित निकाल्नु अनिवार्य छ ।