काठमाडौँ । यस साता कारोबारको पहिलो दिन उच्च अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन पनि दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १२.८४ अंकले घटेर दुई हजार ६७६.१५ को विन्दुमा कायम भएको हो ।
आज ३१७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता सेयर ६२ हजार सात सय ५८ पटक खरिद–बिक्री हुँदा रु. पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८२२ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा वित्त समूह ०.१५, लगानी ०.७६, उत्पादन तथा प्रशोधन १.०६, म्युचुअल फन्ड ०.१४ र अन्य समूह ०.११ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.४६, विकास बैंक ०.६८, होटेल तथा पर्यटन ०.८३, जलविद्युत् ०.५४ र जीवन बिमा समूह १.६७ प्रतिशतले घटेको छ ।
यसैगरी, लघुवित्त समूह ०.६१, निर्जीवन बिमा समूह १.१६ र व्यापार समूह १.३० प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै ८.७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार भएको रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु. ३५ करोड २७ लाख २० हजार ४४९ बराबरको कारोबार भएको छ । सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै आरबिबी म्युचुअल फन्डको पाँच लाख १७ हजार चार सय कित्ता सेयर किनबेच भएको छ । (रासस)

























