सुर्खेत । बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटकाअनुसार भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका हमाल, केसी र २३ वर्षीय कमल चौधरीलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको थियो । चिकित्सकले हमाल र केसीको मृत्यु भएको घोषणा गरेका छन् । चौधरीको उपचार भइरहेको बताइएको छ ।
भेरी नगरपालिका–७ स्याउलीबजारस्थित मध्यपहाडी लोकमार्गमा मजदुरी गर्दै आएका उनीहरु चढेको जीप सडकबाट करिब ७०० फिट तल खसेको प्रहरीले जनाएको छ ।