चीन । प्रधानमन्त्री के.पी. शर्मा ओली जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज(बिहीबार) स्वदेश फर्किंदै छन् ।
उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओ.ली. आज दिउँसो काठमाडौं पुग्ने कार्यक्रम छ ।
बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरू बीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीन बीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्री बीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीन बीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माण सम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुर स्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यात सम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।
यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोग सम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यसै अवसरमा नेपाल र चीन बीच बि.आर.आई. फ्रेमवर्क सहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीन बाट धेरै पर्यटक नेपाल भित्र्याउने बारे पनि उनीहरू बीच कुराकानी भएको जनाइएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तिो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्री बाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सि.सि.पि.आइ.टी.) र चीन स्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाएका थिए । प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङ स्थित सङ्ग्रहालयको अवलोकन समेत गरेका थिए ।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी लगायत छन् । (रासस)

























