काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन र सामाजिक न्यायका लागि नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्।
गणतन्त्र सेनानी कोषले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि अभियान थालिने बताएका हुन्।
संविधानसभामार्फत संविधान निर्माणका क्रममा आफ्नो पार्टीले फरक मतका रूपमा छाडेको प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेन्डालाई अघि बढाइने घोषणा गर्दै अध्यक्ष दाहालले गणतन्त्रलाई जनताको व्यवस्था बनाउन निरन्तर लागिपर्ने बताए।
नयाँ क्रान्तिका लागि विभाजित माओवादी धारलाई एकताबद्ध गर्दै आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै उनले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको सुरुवात गरिसकिएको दाबी गरे।
‘माओवादीले कसैको बैसाखी टेक्दैन, जनताको बलमा आफ्नो एजेन्ड र अभियान अघि बढाउँछ,’ उनले भने। (रासस)