काठमाडौं । नेप्से परिसूचकले उकालो यात्रालाई आज पनि निरन्तरता दिएको छ। अघिल्लो कारोबार दिन सोमबार १९.९७ अंकले बढेको नेप्से आज १७.८० अंकले बढेर २७७५.८५ विन्दुमा पुगेको हो ।
नेप्से सोमबारको तुलनामा बढेपनि कारोबार रकम भने घटेको छ। आज ३०७ स्क्रिप्सको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २९९ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन १० अर्ब माथिको सेयर कारोबार भएको थियो। साताको पहिलो दिन आइतबार ८ अर्बमाथिको सेयर कारोबार भएको थियो।
दोहोरो अंकले बढेको सेयर बजारमा आज पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। दिव्यश्वरी हाइड्रोपावर,इन्ग्वा हाइड्रोपावर,खानीखोला हाइड्रोपावर,जोशी हाइड्रोपावर डेभलपमेन्ट र सुपर मादी हाइड्रोपावरको सेयर १० प्रतिशतले वृद्धि भएको हो ।