राजविराज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश आर्थिक जर्जरता र अराजकतातिर जान थालेकोले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन गर्नुपरेको बताएका छन् ।
कोइरालाले सप्तरीको कञ्चनरुप नगरपालिकामा स्थित रुपनगर फत्तेपुर कञ्चनपुर जोडनै त्रिमार्ग मोडको सडकमा विपी कोइरालाको शालिक अनावरण तथा विपिचोक नामांकरणमा यस्तो बताएका हुन् ।
नेता कोइरालाले कार्यक्रममा बोल्दै स्वास्थ्य क्षेत्रको अवस्था पनि सोचे अनुसारको सुविधा सम्पन्न नभएकाले जनताले प्रत्यक्ष लाभ पाउने गरी स्वास्थ्य क्षेत्रको विकास हुनुपर्नेमा जोड दिँदै कञ्चनरुप नगरपालिकाभित्र रहेको अस्पताललाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वर्तमान अवस्थामा शिक्षा क्षेत्रको अवस्था ज्यादै नाजुक भएकाले उपलब्धिमूलक गुणस्तरीय शिक्षा प्रदान गरी मानिसलाई शिक्षित बनाउन आवश्यक रहेको डा कोइरालाले बताए ।
महिलाहरु उद्यमशील नभएसम्म समाजको विकास नहुने भन्दै उनले यस ठाउँमा एउटा महिला उधमशीलताको उद्योग संचालन हुन आवश्यक रहेको बताए । दुई-तीन बिघा जमिन पालिकाले उपलब्ध गराएमा उद्योग खोल्न सहयोग गर्ने नेता कोइरालाले प्रतिवद्धता ब्यक्त गरे ।
शालिक अनावरण तथा बिपि चोक नामांकरणमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री कौसल किशोर राय, प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादव, एमालेका पोलिटब्यूरो सदस्य सुमनराज प्याकुरेल, नेपाली काङ्ग्रेसका मोरङ्ग सभापति एवम् पूर्वमन्त्री डिक बहादुर लिम्बू , पूर्वमन्त्री सत्यनारायण मण्डल, नेपाली काङ्ग्रेसका सप्तरी सभापति रामदेव साह, जसपाका नेता एवम् पूर्व साँसद डा सूर्यनारायण यादव लगायतका बक्ताहरुले बिपिको योगदानको बारेमा चर्चा गरेका थिए ।
कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत उपप्रमुख मुना कुमारी पोखरेलले गरेकी थिइन् ।