काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन्। प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका हुन्।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली चारदिने औपचारिक भ्रमणमा आज बिहान हिमालयन एयरलाइन्सको चार्टर विमानबाट गएका थिए। प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सीन,सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेका थिए। प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा .आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सङ्घीय सांसद्हरु, मुख्यसहित विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू,निजी क्षेत्रका प्रतिनिधिहरू,सञ्चारकर्मीलगायत ८७ छन्। भ्रमण टोलीमा सहभागी ८७ जनामध्ये सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन गएका हुन् ।