काठमाडौं । स्थानीय तहमा रिक्त ४१ स्थानका लागि उपनिर्वाचन सुरु भएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।
१ मेयर, १ उपमेयर, २ गाउँपालिका अध्यक्ष, ४ गाउँपालिका उपाध्यक्ष र ३३ वडाध्यक्षका लागि चुनाव हुन लागेको हो । अहिले मतदान केन्द्रमा मतदाता लाइनबद्ध भएर मतदान गरिरहेका छन् ।
आयोगले मतदाता नामावलीमा नाम भएका मतदातालाई तोकिएको मतदान केन्द्रमा मतदान गर्न आह्वान गरेको छ । मतदान गर्न मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात देखाएर पनि मतदान गर्न पाइने छ ।
आयोगले भनेको छ, ‘मतदातालाई सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न दिने व्यवस्था गरिएको छ।’
मतदाताको सहजताका लागि मतदान स्थलको निश्चित क्षेत्रबाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध मिलाएको छ। मतदातालाई यातायात सुविधा प्रदान गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।
आज मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदा रहेको छ ।