रुपन्देही । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा सुधार आएकाले ढुक्कसँग लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
रूपन्देही उद्योग सङ्घले बुटवलमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा समस्या परेको भन्दै अहिले अर्थतन्त्रमा सुधार आएको बताए । अहिलेको सरकार प्रतिनिधि सभाबाट बन्ने सबैभन्दा बलियो सरकार रहेको उनको दाबी छ ।
अहिलेको सरकार २०८४ को चुनावसम्म नढल्ने दाबी गर्दै अर्थमन्त्री पौडेलले लगानीका लागि डराउन नपर्ने बताए । उनले अब तीव्र गतिमा औद्योगीकरणमा जानुपर्ने बताए ।
सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र स्थापनालाई प्राथमिकतामा राखेर उद्योग मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको उल्लेख गर्दै उनले स्थानीयले जोतभोग गरिरहेको र बस्ती रहेको क्षेत्र छाडेर भए पनि औद्योगिक क्षेत्र निर्माणको काम थाल्ने तयारीमा रहेको बताए । जसरी भए पनि भैरहवा अन्तराष्ट्रिय विमानस्थल चलाउने अर्थमन्त्री पौडेलकाे भनाइ छ । (रासस)