काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैखाले तिक्डम अपनाउन थालेको आरोप लगाएका छन् । समसामयिक बिषयमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘प्रचण्डको अभिव्यक्ति बंगलादेश, श्रीलंका बनाइन्छिु भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्जु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिलगायतले सरकारबाट हटेपछि फेरि सबैखाले तिक्डम अपनाउँदैछन् भन्ने देखाएको छ ।’
अराजकता र लोकतन्त्र सँगै जान नसक्ने वताउँदै ज्ञवालीले ००६ सालदेखि परिवर्तनका संवाहक मुख्य कांग्रेस एमाले भएको बताए । उनले दुई दल प्रतिस्पर्धामा रमाइरहने प्रचण्डले जादू नम्बर खेलाइरहने देखिएपछि कांग्रेस एमालेबीच सहकार्य स्पष्ट गरेका छन् ।
त्यस्तै उनले सन् २०१७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार हुँदा नेपाली कांग्रेसबाट परराष्ट्रमन्त्री रहेका प्रकाशशरण महतले बीआरआई सम्झौतामा हस्ताक्षर गरेको स्मरण गराएका छन् ।
ज्ञवालीले उक्त सम्झौतापछि ९ परियोजना नेपालले छानिसकेको भन्दै त्यसमा लगानीको ढाँचा भने अझैं टुंगिन बाँकी रहेको बताएका छन् । बीआरआईबारे सत्तारुढ दुई दलबीच फरकमत रहेको स्वीकार गर्दै ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि समझदारीमा पुग्ने समेत दाबी गरेका छन् ।
उनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार बनेपछि अर्थतन्त्र सुधारको संकेत देखिएको बताउँदै सरकारले एकपछि अर्को गर्दै सुशासनको पक्षमा कदम चालेको बताएका छन् ।
रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको प्रसंगमा ज्ञवालीले भने ‘यो विधिको शासन हो । कुनै पार्टीको सभापति पूर्वगृहमन्त्री भएकाले छुट्ने कुरा हुन्न । जो पार्टीको भएपनि कारबाही भोग्नपर्छ । रास्वपासँग हाम्रो प्रतिस्पर्धा होइन किन फसाउनु । कोशीका मन्त्रीलाई तत्काल पदमुक्त गरिएको उदाहरण उहाँहरुले हेर्नुपर्छ ।’
देश बन्दैन भनेर सामाजिक अराजकता फैलाएर जनतामा निराशा छर्ने र अस्थिरता चाहनेहरू एकठाउँ आउन खोजेको भन्दै ज्ञवालीले दुर्गा प्रसाईले सार्वजनिक गरेको फेक डकुमेन्ट प्रकरण त्यसको पछिल्लो उदाहरण भएको बताएका छन् ।