काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै चुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। सिंहदरबारमा आज सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठकमा प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन झनै आवश्यक भएकाले शासकीय सुधारलाई समितिबाट निर्णय गर्नुपर्ने कार्यसूचीको पहिलो नम्बरमा राखेको स्पष्ट पारेका हुन्।
उनले वन वातावरण संरक्षण गर्दै यस क्षेत्रले विकासका आयोजनालाई सहजीकरण गर्नुपर्ने र विकासलाई अवरोध गर्ने गरी वनसम्बन्धी निकायले काम गर्न नहुने बताए। उनले अजरवैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले आवश्यकताभन्दा बढी कर्मचारी पठाएको सन्दर्भ उल्लेख गर्दै यस्ता गलल प्रवृत्ति हुन नहुनेमा मन्त्री र सचिवहरूलाई ध्यानाकर्षण गराए।
“हामीले गतिका साथ काम गरेर साहसिक निर्णय लिनुपर्नेछ। कृषिको आधुनिकीकरण र निजी क्षेत्रलाई प्रोत्साहित दिँदै उत्पादन र उत्पादकत्व बढाउनुपर्नेछ। उद्यमीलाई तर्साउने र गाली गर्ने अनि त्यस्तै प्रवृत्तिले ताली पाउने खालका कार्यलाई कडाइका साथ निरुत्साहन गर्नुपर्छ।” प्रधानमन्त्री ओलीले भने, “व्यापार र उद्योगमा लगानी हुने वातावरण सृजना गरी काम गर्नुपर्छ। निकै ठुलो षड्यन्त्रका रूपमा विकासलाई अवरोध उत्पन्न गर्ने गरी सामाजिक अराजकता निम्त्याइएको छ।”