काठमाडौँ । कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज मंगलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ। दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतम बुद्ध विमानस्थलले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले एयरबस ३३० बाट गौतमबुद्ध विमानस्थलमा कतार एयरवेजले पहिलोपटक व्यावसायिक उडान गरेको बताए।
कतार एयरवेजले अब नियमित रूपमा दोहा–भैरहवा–काठमाडौं–दोहा ‘रुट’मा एक उडान गर्नेछ। उक्त विमान कम्पनीले आगामी मंसिर १५ गतेसम्म गौतम बुद्ध विमानस्थलमा उडानको अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। कतार एयरसँगै गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ।
यसअघि उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, थाई एयर एसिया र जजिराले सेवा प्रारम्भ गरिसकेका छन्। (रासस)