काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर पाँच वर्ष कैद सदर भएका मनाङेलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गर्दैछ ।
काठमाडौंको सानो भर्याङबाट आज विहान पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा लगिएको गृह मन्त्रालयले जनाएको छ । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई उच्च अदालत पाटनले ठहर गरेको पाँच वर्ष जेल सजाय सर्वोच्चले सदर गरेको हो । यही कात्तिक २० गने मनाङेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्कालीन पुनरावेदन अदालत, पाटनकै फैसला सदर गरेको थियो ।
जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैद सजाय तोकेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारको पुनरावेदनमा पाटन अदालतले २०६९ साउन २८ गते फैसला गर्यो । जिल्ला अदालतको फैसला केही उल्टी गर्दै तीन वर्ष कैद थप गरेर पुनरावेदन अदालतले ५ वर्ष कैद तोकेको थियो ।
पुनरावेदन अदालतको फैसलापछि पनि फरार रहँदै आएका उनलाई २०७५ वैशाख ६ गते काठमाडौँबाट पक्राउ गरेर अदालतमा उपस्थित गराइएको थियो ।
अदालतले उनलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको थियो । पुनरावेदन अदालतको फैसलापछि पनि ६ वर्ष पुनरावेदन नगरेका मनाङ्गेले पक्राउ परेपछि मात्रै सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
सुरुमा पुनरावेदनको हद म्याद नाघेको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । त्यसविरुद्ध इजलासमा निवेदन दिएका मनाङ्गेको पुनरावेदन निवेदन दर्ता गर्न र उनलाई २७ हजार ३७५ रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको थियो ।
सर्वोच्चले थुनाबाहिरै रहेर सुनुवाइ अगाडि बढाउन आदेश दिएपछि दुईपटक प्रदेश सांसदमा निर्वाचित मनाङे पटकपटक गण्डकी प्रदेश सरकारमा मन्त्री पनि बनेका थिए ।
६ वर्ष अघि सर्वोच्चको आदेशमा डिल्लीबजार कारागारबाट रिहा भएका मनाङेलाई अहिले सर्वोच्चले उच्चकै फैसला सदर गरेसँगै पुनः जेल फर्किनुपरेको हो ।