विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।
उनलाई आजै दिउँसो एक बजे हवाईजहाज मार्फत काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । मन्त्रालयको नक्कली कागजात बनाएका अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । उनीहरुलाई जापानको अध्यागमनले विमानस्थलबाटै नेपाल फर्काइदिएको थियो ।
मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । अधिकारीले आफूलाई ठगहरुले फसाएको र आफूसँगै अन्य तीन जनालाई पठाइएको थाहा पाएपछि आफैले जापानको अध्यागमनलाई जानकारी गराएर फिर्ता ल्याएको दावी गरेका छन् । नेकपा एमालेका नेता समेत रहेका अधिकारीले आफूलाई फसाउनेहरुको विवरण पनि प्रहरीलाई जानकारी आफैले दिएको बताएका छन् ।
अधिकारीलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अधिकारीले आफूलाई फसाइएको दाबी गर्दै अनुसन्धानमा सघाउने बताएका छन् ।