धनगढी- धनगढी उपमहानगरपालिका-३ चटकपुर निवासी धर्मसिंह-माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन। घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन्। डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ।
स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै सुनुवाइ नभएको दुखेसो गरे। पेट्रोलियम पदार्थ भण्डारण गरिएका ठुल्ठू ट्यांक नजिकै भएको र डिपोबाट इन्धन ‘लोडअनलोड’ भइरहँदा घरमा आगो बाल्न पनि त्रसित हुनुपरेको चटकपुरका स्थानीयको गुनासो छ। ‘घरमा आगो बाल्न डराउनुपर्ने अवस्था छ’, माधवीले भने, ‘डरले रातभर निद्रा पर्दैन, निगमले डिपो अन्यत्र सारेर स्थानीयलाई निर्धक्क जिउन दिनुपर्छ।’
केही वर्ष पहिले जंगल रहेको डिपो आसपास अहिले बाक्लो बस्ती छ। डिपो अगाडि नै रहेको धनगढी-अत्तरिया सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन्। नजिकै धनगढी नेत्रालय, सीपी अस्पतालसहित अन्य स्वास्थ्य संस्था, विद्यालय र व्यापारिक ‘कम्प्लेक्स’ सञ्चालनमा छन्।
नगर क्षेत्रमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि आफूले पटकपटक डिपोका कारण स्थानीयले निर्धक्क भएर बस्न नपाएको र बस्ती नभएको क्षेत्रमा डिपो सार्न पटकपटक आग्रह गरेको धर्मसिंह सम्झिन्छन्।
चटकपुरकै स्थानीय भीम मल्ल घनावस्तीबीचको डिपोका कारण वरपरका बासिन्दा सधैँ चिन्तित रहेका सुनाए। ‘कतिबेला आगलागी हुन्छ, सधैँ चिन्तित छौँ’, उनले भने, ‘आगलागीको त्रासका कारण स्थानीयले ढुक्कका साथ जीवनयापन गर्न सकेका छैनन्।’ (रासस)