काठमाडौँ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले फैसलाको पूर्णपाठ आएपछि आफू अदालतमा उपस्थित हुने बताएका छन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मनाङेले कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएको तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार भइनसकेको जानकारी आफूले पाएको बताउँदै भनेका छन् – “सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयं उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।”
अदालतबाट आफू दोषी ठहर भएको फैसला आएपछि केही सञ्चारमाध्यमबाट तारन्तार फोन आएकाले मोबाइल बन्द गरेको बसेको वताउँदै उनले केही सञ्चारमाध्यममा आफूविरुद्ध भ्रामक समाचार आएको भन्दै आपत्ति जनाएका छन् ।
गत मंगलबार उनको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनकै फैसला सदर गरेको थियो ।
पाटन अदालतले गुरुङलाई ५ वर्षको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो । उता गुरुङ भने २ वर्ष कैदको फैसलापछि पनि जेलबाहिरै थिए ।
सरकारको पुनरावेदनमा पाटन अदालतले २०६९ साउन २८ गते तीन वर्ष कैद थप गरेर ५ वर्ष कैद तोकेको थियो ।
पुनरावेदन अदालतको फैसलापछि पनि फरार रहँदै आएका मनाङ्गेलाई २०७५ वैशाख ६ गते काठमाडौँबाट पक्राउ गरेर भोलिपल्ट अदालतमा उपस्थित गराइएको थियो ।
अदालतले उनलाई डिल्लीबजार कारागार चलान गर्न आदेश दिएको थियो । पुनरावेदन अदालतको फैसलापछि पनि ६ वर्ष पुनरावेदन नगरेका मनाङ्गेले पक्राउ परेपछि मात्रै सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
सुरुमा पुनरावेदनको हद म्याद नाघेको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । त्यसविरुद्ध इजलासमा निवेदन दिएका मनाङ्गेको पुनरावेदन निवेदन दर्ता गर्न र उनलाई २७ हजार ३७५ रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको थियो ।
सर्वोच्चले थुनाबाहिरै रहेर सुनुवाई अगाडी बढाउन आदेश दिएपछि दुई पटक सांसदमा निर्वाचित भइसकेका मनाङे पटक पटक मन्त्री पनि बनेका थिए।
स्वतन्त्र सांसद चुनिएपछि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका उनी पछिल्लो समय स्वतन्त्र सांसदकै हैसियतमा फर्किन खोजिरहेका थिए ।
६ वर्ष अघि डिल्लीबजार कारागारबाट सर्वोच्चले नै रिहा गर्न आदेश दिएका मनाङेलाई अहिले सर्वोच्चले उच्चकै फैसला सदर गरेसँगै पुनः जेल फर्किनु पर्ने निश्चित भएको हो ।
गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैदमा बिताएले अब २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।