काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई जिताउने गरी एकतावद्ध भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीको स्थानीय तह उपनिर्वाचन केन्द्रिय संयोजन समितिले सो निर्वाचनमा पार्टी विजयी हुनेगरी परिचालन हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको हो । पार्टी महामन्त्री एवं सो समितिका संयोजक विश्वप्रकाश शर्माको अध्यक्षतामा बुधवार पार्टी मुख्यालय सानेपामा बसेको बैठकले संयमताका साथ सम्पन्न गराउनका लागि हार्दिकता साथ प्रस्तुत हुन पनि सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
लोकतान्त्रिक पद्धतिप्रतिको आम नागरिकको विश्वासलाई अझै खदिलो बनाउने गरी सो उपनिर्वाचनलाई हार्दिकताका साथ सम्पन्न गराउन बैठकले सबै राजनीतिक दलहरुलाई आग्रह पनि गरेको महामन्त्री शर्माले बताए ।
महामन्त्री शर्माले उपनिर्वाचनमा आचारसंहिता विपरितका गतिविधिहरु गर्ने, उत्तेजनात्मक अभिव्यक्तिहरु राख्ने कामले नागरिकको लोकतन्त्रप्रतिको भरोसा टुट्दै जाने भएकाले त्यस्ता खालका गतिविधि गर्न नहुने पनि बताए ।