काठमाडौँ । बुधबार नेप्से परिसूचक १.८८ अंक घटेर २६७५.५१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३२० स्टकको ५५ हजार २३८ पटकको कारोबारमा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने समृद्धि फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.५५ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य करिब साढे ८ प्रतिशत घटेको छ ।