काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटीको आज बसेको बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवार सर्वसम्मत रुपमा टुंगो लगाएको छ ।
जिल्ला इन्चार्ज आनन्द पोखरेलका अनुसार महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको छ ।
संवैधानिक कानून विषयमा विद्यावारिधि गरेका कीर्तिपुरका लोकप्रिय नेता मानन्धरलाई सर्वसम्मत रुपमा अघि सारेर नगर कमिटीले विजयी पहल थालेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताएका छन् ।
त्यस्तै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ भने काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत सिफारिस गरेको अध्यक्ष निरौंलाले बताएका छन् ।
यी सबै उम्मेदवार सम्बन्धित वडा र नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएकाले उपचुनाव परिचालन थप सहज भएको इन्चार्ज पोखरेलले बताएका छन् ।