काठमाडौँ । दीपावलीको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक ०.२१ अंकले ओरालो लागेर दुई हजार ६७७.४० अंकमा सीमित भएको छ।
ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८२ अंकले ओरालो लागेर ४७७.९९ विन्दुमा कायम भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको सेयर मूल्य उकालो लाग्दा ६ उपसमूहको ओरालो लागेको छ। कुल ९७ लाख १३ हजार ७३० कित्ता सेयर रु. चार अर्ब २० करोड ५५ लाख पाँच हजार २३७ मा कारोबार भएको छ।
नेप्सेका अनुसार, सुपर माई हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। समाज लघुवित्त ९.९५, युनाइटेड मोदी हाइड्रोपावर ९.५१, गुराँस लघुवित्त ९.३२ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ८.७५ प्रतिशतले कमाएका छन्।
त्यसैगरी, मिड सोलु हाइड्रोपावर १०, अप्पर स्यांगे हाइड्रोपावर ८.९४, सामलिङ पावर कम्पनी ६.४९, एक्सेल डेभलपमेन्ट बैंक ५.९७ र एनआइसी एसिया फ्लेक्सी फन्डका लगानीकर्ताले ५.९१ प्रतिशतले गुमाएका छन् । (रासस)























