काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक्लाएक्लै चुनाव लड्ने रणनीति पार्टीले लिएको बताएका छन् ।
शनिबार काठमाडौंको पेप्सीकोलामा काठमाडौं ३२ कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । यसका लागि आवश्यक तयारीमा लाग्न जरुरी रहेको उनले उल्लेख गरे ।
आगामी निर्वाचनमा तयारीबिना सत्ता साझेदार दल नेकपा (एमाले)जस्तो संगठित दलसँग भिडेर जान कठिन हुने उनले बताए ।
राजनीतिक दलहरुमा समेत आफ्नो मान्छेलाई टिकट बाँड्ने प्रचलन रहेको कारण समस्या भइरहेको उनको भनाइ थियो ।
त्यस्तै, उनले एमाले र कांग्रेस प्रमुख प्रतिस्पर्धी दल भए पनि राजनीतिक स्थिरताका लागि मिलेर सरकार चलाउनुपरेको बताए । सहमति अनुसार सुरुवाती दुई वर्ष सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र आगामी निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्ने उनले बताए ।