काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा आज नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले सोका लागि नेपाल आफ्नो भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्याएका हुन् ।
‘हामी विश्वस्त छौं कि जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्र सङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेछ, जुन हामी जस्ता कमजोर राष्ट्रहरूको अस्तित्वको लागि आवश्यक छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘विश्वभरको यो अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको छ । हामी शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवद्र्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौं ।’
उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैं शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताको लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्तहरू पालना भइरहेको अवगत गराउँदै दुई ठूला छिमेकीहरूको बीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग शत्रुता’ को नीति कायम राख्ने स्थितिमा रहेको पनि बताए ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा शान्ति स्थापना र विपद व्यवस्थापनमा संयुक्त राष्ट्र संघले गरेको पहल र त्यसमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरे ।
समारोहमा समापन मन्तव्य राख्दै प्रधान सेनापति अशोक राज सिग्देलले नेपाल सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्य भएदेखि नै विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघका विभिन्न कार्यक्रमहरूमा सहकार्य गर्दै आइरहेको बताए । उनले नेपाल सरकारले संयुक्त राष्ट्र संघलाई शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धता अनुसार नेपाली सेना फौज पठाउन तयार रहेको बताए ।
मन्तब्यकै क्रममा उनले तालिम प्राप्त र दक्ष शान्ति सैनिकहरू तैनाथ गर्न नेपाली सेना हर हमेसा कटिबद्ध रहेको बताउँदै विश्व शान्ति स्थापनामा सहकार्य गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको योगदानको समेत सराहना गरे ।
युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले स्वागत मन्तव्य राखेको समारोहमा गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, रक्षा मन्त्री मानवीर राई, पूर्व प्रधान सेनापतिहरु, नेपाल सरकारका सचिवहरु, UNDOF Mission का मिसन प्रमुख एवं फोर्स कमाण्डर, पूर्व फोर्स कमाण्डरहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरू, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरू, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाली सेनाले मार्चपास गर्नुका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरेको थियो । कार्यक्रम स्थलमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गराइएको थियो ।
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रहरूको सूचिमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रहरूमा समेत पहिलो स्थानमा रहेको छ । संयुक्त राष्ट्र संघिय मिसन अन्तर्गत हाल विश्वका विभिन्न ११ वटा मिसनहरुमा नेपाली सेनाका ५,९१८, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १४३ गरी जम्मा ६,१४१ जना शान्ति सैनिकहरु कार्यरत छन् ।
सन् १९४५ अक्टोबर २४ मा यूएनको स्थापना भएको हाे । सन् १९४७ मा संयुक्त राष्ट्र महासभाले अक्टोबर २४ लाई संयुक्त राष्ट्रसङ्घको बडापत्रको वार्षिकोत्सव घोषणा गरेको थियो।