गलेश्वर । स्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा यस वर्ष हालसम्मकै बढी स्याउ उत्पादन भएको छ। स्याउ निर्यात गरेर मुस्ताङी किसानले ९२ करोड रुपैयाँभन्दा बढी जिल्लामा भित्र्याएका छन्।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार यस वर्ष करिब सात हजार ३३० मेट्रिकटन स्याउ उत्पादन भएको छ। “यस वर्ष मुस्ताङमा हालसम्मकै धेरै स्याउ उत्पादन भयो। प्रारम्भिक मूल्यांकनअनुसार करिब ९३ करोडको हाराहारीमा स्याउ बिक्री भएको पाएका छौँ,” कृषि ज्ञान केन्द्र प्रमुख राजेश गुरुङले भने, “स्याउ फुल्ने र दाना लाग्ने समयमा अनुकूल मौसमका कारण उत्पादन वृद्धि भएको हो, जसबाट किसान निकै लाभान्वित भएका छन्।”
विगतको तुलनामा करिब ३५ प्रतिशतले स्याउको उत्पादन बढेको गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। गत वर्ष मुस्ताङमा ६ हजार ५९६ मेट्रिकटन स्याउ उत्पादन भएको थियो। ५४ करोड ७२ लाख बराबरको स्याउ निकासी भएको थियो।
स्थानीय जातको स्याउ ६ हजार ७८ मेट्रिकटन उत्पादन भएको छ। कुल ८३० हेक्टर क्षेत्रफलमा लगाइएकामा ५६६ हेक्टरका स्याउका बोटबाट उत्पादन भइरहेको छ। यस वर्ष किसानबाट खरिद गर्दा व्यापारीले औसत मूल्य प्रतिकिलो ११० रुपैयाँ दिएका छन्। हाईब्रिड स्याउ प्रतिकिलो २०० रुपैयाँ छ।
कृषि विकास निर्देशनालय गण्डकीका महानिर्देशक वासुदेव रेग्मीका अनुसार मुस्ताङमा स्थानीय जातभन्दा आयातित उच्च घनत्व स्याउको उत्पादन राम्रो हुँदै गएको छ। विदेशी जातको स्याउको बोटबाट छोटो समयमा धेरै परिमाणमा उत्पादन हुँदा व्यावसायिक रूपमा स्याउ उत्पादनको सम्भावना झनै बलियो बन्दै गइरहेको महानिर्देशक रेग्मीको भनाइ छ।
मुस्ताङमा हाल ६० हेक्टर क्षेत्रफलमा मात्रै उच्च घनत्व जातका स्याउको खेती गरिएको छ। जसमा ५० हेक्टर क्षेत्रफलका बोटले उत्पादन दिन शुरू गरिसकेका छन्। उक्त क्षेत्रफलबाट एक हजार २५० मेट्रिकटन स्याउ फलेको छ। जसको विक्री दर औसतमा २०० रुपैयाँ प्रतिकिलो रहेको छ।
यहाँ उत्पादन भएकामध्ये १० प्रतिशत जिल्लामा नै खपत तथा भण्डारण हुने गरेको र बाँकी ९० प्रतिशत उत्पादन म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा, नारायणगढ, काठमाडौँलगायतका ठाउँमा भण्डारण र निर्यात हुने गरेको निर्देशनालयले जनाएको छ।
मुस्ताङमा एक हजार ४१५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको र ५८५ हेक्टर जमिनमा लगाइएको स्याउका बोटमा मात्रै स्याउ फलेका कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। यहाँ ८० प्रतिशत स्थानीय जातका स्याउ र २० प्रतिशत हाईब्रिड स्याउको खेती गरिएको छ । (रासस)