काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.५९ प्रतिशतले घटेर ४८७.३९ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन बिहीबार नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब माथिको कारोबार भएको थियो।
नेप्से उच्च अंकले घटे पनि कारोबार रकम भने बिहीबारको तुलनामा बढेको छ। आज ३१५ स्क्रिप्सको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७२ रुपैयाँमा खरिदबिक्री भए।
दोहोरो अंकले घटेको सेयर बजारमा एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी नगदी ग्रुपको ९.८९ प्रतिशतले बढ्दा हिमालयन लघुवित्त वित्तीय संस्थाको ५.९२,सिटीजन्स सुपर ३० म्युचुअल फण्डको ३.७९ र एनआईबीएल स्टबेल फण्डको ३.६४ प्रतिशतले बढ्यो।