वीरगञ्ज (पर्सा) । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको असोज मसान्तसम्मको अवधिमा कुल वार्षिक लक्ष्यको २१.२५ प्रतिशत राजस्व संकलन गरेको हो ।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलन २५ करोड ८४ लाख ११ हजारले कमी भएको बताए ।
“गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा सवारीसाधन र मदिराजन्य पदार्थको आयातमा गिरावट आएसँगै राजस्वमा प्रत्यक्ष असर पारेको देखिन्छ,” उनले भने, “चालु आवको दसैँमा पनि अपेक्षाकृत आयात बढ्न सकेन । जसले गर्दा राजस्वको लक्ष्य भेट्टाउन सकेन ।”
कार्यालयले चालु आवको पहिलो महिना साउनमा मासिक लक्ष्यको ७९.२८ प्रतिशत अर्थात तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व संकनन गर्यो । त्यस्तै चालु आवको दोस्रो महिना भदौमा मासिक लक्ष्यको ८८.५० प्रतिशत अर्थात चार अर्ब ६४ करोड १९ लाख एक हजार राजस्व संकलन गर्यो ।
त्यस्तै, चालु आवको तेस्रो महिना अर्थात् असोजमा भने मासिक लक्ष्यको ९०.३१ प्रतिशत अर्थात चार अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व संकलन गर्यो ।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा १३ अर्ब ११ करोड ६२ लाख ३२ हजार राजस्व संकलन भएको थियो । (रासस)